जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । आजबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश गनुभएको हो ।
गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी पार्टीका २८ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बैशाख २ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव दर्ता अगावै चालु अवस्थामा रहेको हिउँदे अधिवेशन सरकारकातर्फबाट अन्त्य भएपछि विपक्षीहरुले विशेष अधिवेशनको माग गरेका थिए ।
दलहरुको माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो दुई बजेका लागि विशेष अधिवेशन आव्हान गर्नुभएको थियो । विशेष अधिवेशनमा मुख्यमन्त्रीका विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफल गरेर मतदान गर्ने कार्यतालिका रहेको छ ।
यस अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैशाख १५ गते भित्रै अविश्वासको प्रस्तावलाई मतदानमा लैजने गरी सहमति भएको थियो । अविश्वासको प्रस्ताव लैजादा मुख्यमन्त्रीका प्रस्तावक नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म अनुसार जननिर्वाचित संसद र सरकार पाँच वर्षनै चल्नुपर्ने भएपनि प्रधानमन्त्रीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाउनुभयो ।
दल विभाजन भएको र सत्ताधारी दलले समर्थन फिर्ता लिदा समेत मुख्यमन्त्रीले विश्वासको मत नलिई अनावश्यक चलखेल गरेकाले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था रहेको पोखरेलले बताउनुभयो । विशेष अधिवेशनमा अहिले प्रदेशसभा सदस्यहरुले आआफ्ना भनाईहरु राख्नेक्रम सुरु भएको छ ।
गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादीका दुई र एक स्वतन्त्र रहेका छन् । हाल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक स्वतन्त्र गरी २८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।