जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमण जेठ-असारमा उच्च बिन्दुमा पुग्न सक्छ,सचेत बनौं : स्वास्थ्य मन्त्री

जन्मभुमि खबर
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्डको पालनलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सकिने बताए।

सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री त्रिपाठीले भने,’ अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ -असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’

मन्त्री त्रिपाठीका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ। उनले अहिले नेपालमा आतंकित हुने अवस्था नभएको तर सतर्क  र संवदेनशील हुन आवश्यक रहेको औल्याए। उनले भने,’ कोरोनाबाट हामी सबै संवदेनशील होऔं।’ आ-आफ्नो पालोमा अनिवार्य खोप लगाऔं।’

उनले सबैले आ-आफ्नो पालोमा अनिवार्य खोप लगाउन, अरुलाई खोपबारे सत्य तत्य जानकारी दिन, खोप लगाइसकेपछि अनिवार्य मास्क लगाउन र पटक पटक हात  धोएर कोरोना लडाइमा साथ दिन सबैमा अनुरोध गरे।