जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाविरुद्धको खोपको ५० लाख डोज किन्‍ने प्रक्रिया सुरु’ 

जन्मभुमि खबर
काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिदको तयारी सुरु गरेको जानकारी दिएका हुन् ।

संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव अर्यालले उक्त जानकारी दिएका हुन् । ‘थप ५० लाख डोज खोप किन्नका लागि तयारी सुरु गरेका छौं । खोप खरिदको स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले गरेको छ,’ उनले भने ।

सचिव अर्यालले खरिद लगायतका काममा जटिलता आएमा समाधान गर्नका लागि वार्ता टोली पनि रहेको बताए । हाल सरकारसँग कोरोना भाइरसविरुद्धका खोप ३० लाख डोज रहेको उनले जानकारी दिए । त्यस्तै कोभ्याक्सले २२ लाख डोज दिने र चीनले पनि कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप दिने भएको उनको भनाइ थियो ।

दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ । त्यसपछि तेस्रो चरणको खोप अभियानमा २०७८ वैशाख ७ गतेदेखि ४० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने पनि सचिव अर्यालले जानकारी दिए ।

फागुन १० गतेसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना खोप लगाएको र अहिले पनि नेपाली सेना र सशस्त्र प्रहरीले खोप लगाइरहेको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । कोभिड- १९ विरुद्धको खोपका लगाएका व्यक्तिमा गम्भीर प्रकृतिका असर देखा नपरेको उनले जानकारी दिए ।

सांसद सरिता न्यौपानेले कोरोना भाइरसविरुद्धको खोप आधारभूत तहसम्म पहुँच हुनुपर्ने बताइन् । उनले अहिलेको व्यवस्थापन राम्रो रहेको र आगामी दिनमा समुदायमा लगाउनुपर्ने भएकाले थप व्यवस्थित हुनुपर्ने बताइन् । उपसमिति संयोजक जीवनराम श्रेष्ठले दूरदराजका बासिन्दालाई पनि खोपको व्यवस्था गर्नका लागि अहिलेको भन्दा राम्रो व्यवस्थापन सरकारले गर्नुपर्ने बताए । उनले भने, ‘नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा स्थानीय तहको सिफारिसमा खोप लगाउने व्यवस्था गरिएमा सहज हुनेछ, यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउँदछु ।’ रासस