जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा आजदेखी सवारी साधनमा जोर बिजोर लागु

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको हो ।

जस अनुसार जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् । आज जोर नम्बरका सवारीसाधन मात्र सञ्चालन हुन पाउनेछन । अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।

प्रशासनले गए राति १२ बजेबाट लागू हुनेगरी भदौ १० गते राति १२ बजेसम्मकालागि एक साता निषेधाज्ञाको समय थपेको छ ।

जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । पोखराको मुख्य चोकहरु अमसिंङ चोक, बुद्वचोक, पृथ्वीचोक, जिरो किलोमिटर, महेन्द्रपुल लगाएतका चोकहरुमा प्रहरीले कडाइका साथ चेकिङ थालेको छ ।
जिल्ला प्रशासन कार्यलय कास्कीले भदौ
४ गते बाट लागू हुने गरी जिल्लामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो । प्रशासनले जोर दिनमा जोर सवारी साधान र विजोर दिनमा विजोर सवारी साधान चलाउन भने पनि नियम पालना नगर्नेहरुको सवारी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सबै क्षेत्रमा पुन: एक साता बन्देज लगाइएको छ । प्रशासनले जारी गरेको विज्ञप्तीमा विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ । भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ । पुर्व निर्धारित बैबाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ ।

त्यस्तै सार्वजनिक सवारीको ढोकामै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, यात्रु चालकले अनिवार्य मास्क लगाउनुपर्ने र सहचालकले अनिवार्य मास्कसहित फेसशिल्ड र पञ्जा समेत लगाउनुपर्ने प्रशासनले आदेश जारी गरेको छ ।