जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका सबै निर्वाचन केन्द्रमा मतदान सुरु

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीका सबै निर्वाचन केन्द्रमा मतदान सुरु भएको छ । मतदानका लागि बिहान सबेरैदेखि मतदाता लामबद्ध भएको र ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

कास्कीमा भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष तथा सदस्य एवं चारवटा गाउँपालिका माछापुच्छ«े, मादी, रुपा र अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्ष एवं वडाध्यक्ष र सदस्य चयन गर्नका लागि भएको मतदानका लागि ३३६ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय कास्कीका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए।

यस निर्वाचनमा पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् । त्यस्तै माछापुच्छ«े गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपामा १४ हजार ६७५ मतदाता रहेका छन् ।

आजको निर्वाचनमा पोखरा महानगरमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले भरतपोखरीस्थित शान्ति उदय मावि र उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले विजयपुरस्थित भवानी कालिका मावि, नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले बाटुलेचौरस्थित विन्दुवासिनी मावि र उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले सिर्जनाचोकस्थित राम आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुने छ ।

त्यस्तै अटेरी अभियानका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार गनेश पौडेलले मझेरीपाटनस्थित रामेश्वरी मावि मतदान केन्द्रबाट मतदान गर्नुहुने जनाइएको छ । मतदानका लागि सबै केन्द्रमा मतदाता उत्साहितरुपमा लामबद्ध बनेका छन् ।