जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंको फोहोर बोकेका १८ गाडी बन्चरेडाँडामा तोडफोड 

काठमाडौंको फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ ।

गए राति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडीमा तोडफोड गरिएको ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । “अहिलेसम्म १८ वडा गाडी तोडफोड भएको देखेका छौँ । गाडीका सिसाहरू फुटेका छन् । तोडफोड गर्ने समूह भने पत्ता लागेको छैन,” श्रेष्ठले भने ।

काठमाडौं महानगरपालिकाका अनुसार तीन दिनयता फोहोर विसर्जनमा बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् ।

श्रेष्ठका अनुसार सडक मर्मतका लागि खटाइएको डोजरमा पनि तोडफोड गरिएको छ । “के कति क्षति भएको भन्ने विवरण संकलन हुँदै छ,” उनले भने ।

विगत लामो समयदेखि स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् । आउँदो भदौ १ गतेदेखि सधैँका लागि ल्यान्डफिल साइटमा फोहोर लैजान नदिने घोषणा पनि स्थानीयले गरिसकेका छन् ।