जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेको किचलो संगै आज पनि सदन अवरोध

जन्मभुमि खबर,
पोखरा ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि सदन अवरोध गरेको छ । बहुवर्षीय योजनाहरु, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै बजेटमाथिको छलफलमा अवरोध गरेको छ ।

स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता कार्यक्रम नसमेटिएको भन्दै एमालेले सदन अवरोध गरेको हो । ‘आज बजेट छैन भन्ने अनि १ लाख देखि ३० लाख सम्मका ६३० योजना थपिएका छन्, १२ देखि २० लाख सम्म २३६ योजना थपिएका छन्, २५ देखि ३० लाखसम्म १३० योजना थपिएका छन्,’ सदनमा बोल्दै एमाले सांसद रामशरण बस्नेतले बताए ।

बजेटको न्यायोचित वितरण नभएको एमालेको आरोप छ । ‘२ निर्वाचन क्षेत्र भएको जिल्लालाई ९३ वटा छ । पाँच वटा एउटा जिल्लालाई छ । ती ५ योजना पनि ३० लाखका छैनन् । एक योजना २० लाखको छ, ४ योजना १ देखि १० लाखका छन् । त्यो जिल्ला मुस्ताङ हो, मुस्ताङका जनताले यो सरकारको के बिगारिदिएका छन् ?,’ बस्नेतले भनेका छन् ।

म्याग्दी, लमजुङमा पनि योजनाका संख्या घटाइएको र न्यायोचित वितरणमा ध्यान दिनुपर्ने बस्नेतले बताए । रातो किताब सच्याउन उनले आग्रह गरे । ‘कालो कोठामा बसेर षडयन्त्रपूर्ण रुपमा ल्याइएको बजेटलाई स्वीकार गर्न सक्दैनौं । एक लाखले एउटा बाटो बनाएर के परिणाम आउँछ ?,’ उनले भने, ‘एउटा जिल्लामा ५ योजना वितरण भएको छ । एउटा वार्डमा ९ वटा योजना वितरण भएको छ । यही हो न्यायोचित ? यही हो गठबन्धनले देखाएको हर्कत ?’

बजेट पुर्नविचार हुनुपर्ने र मुख्यमन्त्रीलाई गराएको ध्यानाकर्षणको जवाफ नपाएसम्म सदन चल्न नदिने बस्नेतले बताए । एमालेले आज मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण गराएको थियो ।

सभामुखले बजेट पास नभए जवाफदेही को हुने भनेर प्रश्न गरे । ‘प्रश्न जे छन्, आधा घण्टाभित्र छलफल गरेर अघि बढ्न समय दिन्छु,’ उनले भने ।