जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा ! रारा गोल्डकप : थ्रीस्टारलाई ४–० ले हराउँदै पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश

जन्मभुमि खबर
पोखरा ।
नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।

पुलिसलाई फराकिलो अन्तरको जीत दिलाउने क्रममा बुद्ध बल तामाङले दुई गोल गरे । यस्तै तेज तामाङ र सौजन राईले एकएक गोल गरे ।

मकवानपुरको बागमती गोल्डकप जितेर पोखरा पुगेको थ्री स्टार आज पुलिससामु कमजोर देखिएको थियो । पुलिसले २८ औं मिनेटमा बुद्धको गोलबाट अग्रता बनायो । दोस्रो हाफमा पनि पुलिसले दबाब बनाएको थियो ।

६७ औं मिनेटमा तेज तामाङले पुलिसको अग्रता २–० मा पुर्‍याए । ७३ औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरे भने ८५ औं मिनेटमा सौजनले गोल गरेर पुलिसलाई ४–० को जित दिलाए ।

पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ । यो सँगै सेमिफाइनल समिकरण पुरा भएको छ । अर्को सेमिफाइनलमा एपीएफ र संकटा क्लब भिड्नेछन् ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।