जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा ! रारा गोल्डकप : अफ्रिकन रुट एसोसिएसन, क्यामरुनको टोलिसँग २-१ ले पराजित भएसँगै मछिन्द्र क्वाटरफाइनलबाटै बाहिरियो

जन्मभुमि खबर
पोखरा ।

राष्ट्रिय ए डिभिजन लिग विजेता मछिन्द्र क्लब आहा रारा गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा अफ्रिकन रुट एसोसिएसन, क्यामरुनको टोलिसँग २-१ ले पराजित भएसँगै मछिन्द्र बाहिरिएको हो ।

क्यामरुनी टोलिका लागि खेलको २३ औँ मिनेटमा मौसाले गोल गरे । उनले डि-बक्स भित्र पाएको अवसरलाई सहज गोलमा परिणत गरे । यस्तै ८२ औँ मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै इन्जिमीले गोल गरे ।

मछिन्द्रका लागि खेलको ९० औँ मिनेटमा अभिषेख रिजालले गोल गरे । सुनिल बलले प्रहार गरेको बललाई रिजालले बार नजिकै बाट पोस्टको दिशा दिएका थिए ।

यसघी शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो खेलमा घरेलु क्लब सहारालाई १-० ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने छन् ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।