जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइँदै

आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्षको अक्टोबर १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । सन् १९८९ को राष्ट्रसङ्घको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो । नेपालमा पनि बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण बर्सेनि ठूलो जनधनको नोक्सानी हुने गरेको छ ।

२०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो । मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढी/पहिरो, हिम पहिरो तथा भूकम्पको जोखिममा छ ।

भूकम्पको हिसाबले विश्वको ११ औं तथा बाढी/पहिरोलगायतका प्रकोपका हिसाबले ३० औं ठाउँमा छ। नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । विपद्ले मानवीय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ ।

प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सतर्कता अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिँदै आएका छन् ।