जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज विश्व आदिवासी दिवस , तनहुँका छ स्थानीय तहमा सार्वजनिक बिदा

जन्मभुमि खबर ,
पोखरा ।

आज विश्व आदिवासी दिवस , हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष याे दिवस मनाउन थालिएको छ ।

यस वर्षको नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ तय गरिएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् ।

‘आदि’ भनेको धेरै पुरानो अथवा ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका, आफ्नै विशिष्ट कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ । मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनीहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीरिवाजमा कमी आउन थालेको छ ।

यसैगरी आज तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।