जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पुजा गरिँदै

बडादसैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूपा नवदुर्गा भवानीको आराधना गरी मनाइँदै छ । नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टा स्वरूपा देवीलाई आह्वान गरी विधिपूर्वक आराधना गरिन्छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई विशेषगरी दूधको परिकार प्रिय छ । देवी मन्दिरहरूमा चन्द्रघण्टा स्वरूपा नवदुर्गा भवानीको पूजा गर्ने परम्परा छ । आज पनि काठमाडौैं उपत्यकाका देवी मन्दिरहरूमा बिहानैबाट भक्तजनको घुइँचो लागेको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको तेस्रो देवीलाई चन्द्रघण्टा भगवती भनिएको हो ।