जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज पोखरा महानगरपालिका भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा

जन्मभुमि खबर ,
पोखरा ।

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे पर्वको अवसरमा आज पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । आज महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।

वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।

परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगायतका सामाग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेको भूतलाई धपाउने गर्दछन् ।

गाउँमा खेतीपाती राम्रो होस, शत्रुहरू नाश होउन् भन्ने कामना सहित गाउँमा ट्होटे मनाउने गरिएता पनि हाल आफ्नो मौलिक भेसभुसा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउँदै आएको पाइन्छ । ट्होटेमा पछिल्लो समय गुरुङ मात्र नभई आदिवासी जनजातिहरू मगर, किरात, तामाङ, लिम्बु लगायतका समुदायहरू पनि सहभागी हुँदै आएका छन् । वर्षको दुई पटक उभौली र उँधौलीको रूपमा मनाइने गुरुङ समुदायको ट्होटे पर्वले गुरुङ समुदायको मात्र नभई सम्पूर्ण आदिवासी जनजातिको मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिन खोजेको पाइन्छ ।