जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज दसैँको छैटौँ दिन, कात्यायिनी भगवतीको पुजा गरिँदै

बडा दसैँको आज छैटौँ दिन कात्यायिनी भगवतीको पूजा गरी मनाइँदै छ । कात्यायिनी भगवती व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् ।
कात्यायिनी भगवतीको रूप भव्य र दिव्य छ । कात्यायिनी भगवतीको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर छ । चतुर्भूज रूप धारिण गरेकी कात्यायिनी भगवतीको दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।

नवरात्रको छैटौँ दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्रजस्ता संकट नाश भई सुख, शान्तिसहित प्रगति पथमा अघि बढ्ने धार्मिक विश्वास छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म हिन्दू नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।