जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

जन्मभुमि खबर ।

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।

अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

गत ९ चैतमा बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार हवाई जहाजभित्र प्रयोग हुने इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन परेमा प्राधिकरण बोर्डले इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।

प्राधिकरणले यो निर्णय गरेसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो मुलुक भएको छ । यसअघि अफगानिस्तान र भारतले यस्तो सेवा सञ्चालनमा ल्याइसकेका छन् । यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति नहुँदा स्वीकृति प्रदान गर्न सकिएको थिएन । रासस