जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१९ औं संस्करणको आहा–रारा गोल्डकप चैत १७ देखि

जन्मभुमि खबर,पोखरा ।  कोरोना महामारीले केही समय पछाडी धकेलिएको मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण चैत १७ देखि २८ गतेसम्म पोखरा रंगशालमा हुने भएको छ । पोखरामा शनिबार पत्रकार सम्मेलन गरी आयोजक सहरा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । ‘खेलकुदको विकासमा सहाकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यले पोखरामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै आएको छ ।

प्रतियोगितामा नेपाली र विभिन्न देशका क्लबले सहभागीता जनाउँदै आएका छन् । यस प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लबले जानकारी दिएको छ ।

यद्यपि क्लबका अध्यक्ष केशवबहादुर थापाले कोरोनाका कारण टिम र संख्या र विदेशी खेलाडीका आगमन बारे तत्काल भन्न नसकिने बताए । हालको प्रतियोगिताका लागि क्लबले टिकट शुल्क र पुरस्कार राशीका बारे सार्वजनिक गरेको छैन । थापाले भने, ‘हामी असहज परिस्थितिमा छौं, त्यसैले तत्काल नै केही प्रतिबद्धता दिन मिल्दैन टिकट शुल्क हेरेर पुस्कार राशि राखिन्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न अनुमानित अर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहने बताइएको छ । प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयाँ अनुमानित आम्दानी हुने सहारा क्लबले विश्वास गरेको छ ।

क्याराभान गोल्ड कप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत हुने रकम आयोजक सहरा क्लबबाट सञ्चालित सहरा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आएको छ ।

हाल एकेडेमीको तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् । क्लबले पोखरा १७ जिल्लामा २०७० सालदेखि बालकलाई आवसीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षाको साथै फुटबल प्रशिक्षण समेत गराउँदै आएको छ ।