जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा प्रसारण हुने

जन्मभूमि खबर ।  लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभी एचडीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण शुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिनुभयो ।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भन्नुभयो–‘कार्यक्रमलाई अझै उचाईमा पुर्याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’

 

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिनुभयो ।‘‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन’ कार्यकारी निर्देशक कँडेलले भन्नुभयो– ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्ने छ । कार्यक्रमको बजारीकरणका लागि एडप्याड प्रा.लि.लाई अनुबन्ध गरिएको टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले जानकारी दिनुभयो ।