Home / स्वास्थ्य र जीवनशैली / सर्पले टोकाईपछि बच्ने उपाय ।

सर्पले टोकाईपछि बच्ने उपाय ।

सुवास गिरी २०७६ असार ११ बुधबार ।

वर्षायामसँगै तराई भेगमा सर्पदंशका बिरामी ह्वात्तै बढ्ने गरेका छन्। समयमै उपचार नपाउँदा सर्पले टोकेका कतिपय बिरामीको मृत्यु समेत हुने गरेको छ।

सर्पले टोकेका धेरै बिरामी अस्पताल नै नपुगी मर्ने भएकोले सर्पदंशबाट वर्षमा कति जनाले मृत्युवरण गर्छन् भन्ने वास्तविक तथ्यांक पाउन गाह‍्रो छ।

नेपालमा पाइने इलापिडे प्रजातिका (कोब्रा, करेत, क्रोअल) र भाइपरडे प्रजातिका पिट भाइपर, रुसेल्स भाइपर सर्प विषालु मानिन्छन्।

इलापिडे प्रजातिको सर्पको टोकाइपछि शरीरको संवेदना दिने नशाहरुमा असर देखाउँछ भने भाइपरडे प्रजातिको सर्पको टोकाइपछि शरीरको रगत जम्ने क्षमतामा कमी भई आन्तरिक रक्तस्रावमा असर देखाउँछ।

आव २०७१/७२ मा सर्पको टोकाइबाट १३ सय ३२ जना बिरामी लुम्बिनी अञ्चल अस्पताल बुटवल आएका थिए। तीमध्ये विषालु सर्पको टोकाइ भएका र उपचार पाएका १ सय २३ जना र उपचारको क्रममा मृत्यु भएका २ जना थिए।

अस्पतालको तथ्यांकअनुसार आव २०७२/७३ मा १३ सय १३ जना सर्पदंशका आएकोमा विषालु सर्पले टोकेका १ सय ४९ जनाको उपचार भएको थियो। तीमध्ये उपचारको क्रममा १३ जनाको मृत्यु भएको थियो।

त्यसैगरी आव २०७३/७४ मा १२ सय ७७ जना सर्पले टोकेका बिरामी अस्पताल आएका थिए। यसमध्ये विषालु सर्पले टोकेका १ सय ५३ जनाको उपचार भएको थियो भने उपचारको क्रममा १९ जनाको मृत्यु भएको अस्पतालको तथ्यांकमा उल्लेख छ।

आव २०७४/७५ मा भने सर्पको टोकेका ११ सय ३ जना बिरामी उपचारका लागि बुटवल अञ्चल अस्पताल आएका थिए। तीमध्ये विषालु सर्पले टोकेका १ सय ७७ जनाको उपचार भएको थियो भने उपचारका क्रममा १३ जनाको मृत्यु भएको थियो।

सर्पले टोकेपछि समयमा अस्पताल पुर्याेउन नसक्दा धेरैजसो बिरामीको मृत्यु भएको देखिन्छ। यातायातको असुविधा, नजिक अस्पताल नहुनु, भए पनि सर्पको टोकाइको उपचार सबै ठाउँमा नहुनु आदि कुराले पनि मृत्यु हुनेको संख्या बढेको छ।

साथै राजमार्गबाट धेरै टाढा बस्ती हुनु, एम्बुलेन्स भनेको बेला उपलब्ध नहुनु आदि कारणले पनि यो समस्या जटिल बन्दै गएको छ।

बिरामी ओसारपसार गर्न नेपालको पूर्वका केही ठाउँमा मोटरसाइकल स्वयंसेवक सेवा सञ्चालन गरिएको छ। यसले पनि धेरै हदसम्म अकालमा मृत्यु हुनेको संख्या घटाएको छ। अर्कोतर्फ सर्पको टोकाइ पश्चात् अन्धविश्वासको पछाडि लागेर पनि ज्यान जोखिममा परेको पाइन्छ।

कुखुरालाई विष थुताउने, टोकेको ठाउँमा डोरीले कस्ने, ब्लेड तथा धरिलो हतियारले काट्ने आदि चलनले पनि मृत्यु हुनेको संख्या बढाउनुको साथै जोखिम बढाएको छ।

कुखुरालाई विष थुताउँदा बिरामीको तत्काल मृत्यु हुने, टोकेको ठाउँमा डोरीले कस्दा रक्तसञ्चार राम्रोसँग हुन नपाएर टोकेको अंग नै मरेर कालो हुने अथवा काट्नुपर्नेसम्मको अवस्था आउन सक्छ। त्यस्तै ब्लेड तथा धारिलो हतियारले काट्दा टिटानस हुने खतरा हुन्छ।

सर्पले टोक्दा के गर्ने, के नगर्ने?
– टोकेको ठाँउमा हलचल नहुनेगरी राख्ने
– जति सक्यो छिटो अस्पताल पुर्‍याउने
– मुखबाट केही नखाने
– नआत्तिने, बिरामीको मान्छेले बिरामीलाई सान्त्वना दिने
– टोकेको ठाँउमा डोरी वा अन्य कुनै पनि वस्तुले नबाँध्ने
– विष तान्न कुखुरा वा अन्य कुनै पनि प्राणीको प्रयोग नगर्ने
– कुनै पनि धारिलो हतियार प्रयोग गरी टोकेको ठाउँ काट्ने काम नगर्ने

विष लागेका लक्षण
– आँखा धमिलो हुनु
– आँखाको ढकनी तल लत्रिनु
– थुक निल्न गाह्रो हुनु
– श्वास लिन गाह्रो हुनु
– पेट दुख्नु
– उल्टी आउनु
– शरीरको कुनै पनि ठाउँबाट रक्तस्राव हुनु

वर्षा याममा इमर्जेन्सीमा आउने बिरामीहरुले एक्कासि पेट दुख्यो वा एक्कासि ज्यान दुख्यो भनेर सिकायत गरेमा कतै सर्पले त टोकेन भनेर सोच्नुपर्ने हुन्छ।

प्राय: रातको समयमा करेत सर्पले टोक्ने गर्छ र मान्छेलाई थाहा नै हुँदैन। यस्ता बिरामी एक्कासि अस्पताल आउने गर्छन्।

सबै सर्प विषालु हुँदैनन् र विषालु सर्पले टोक्यो भन्दैमा विष लागिहाल्छ भन्ने पनि हुँदैन। विष लागेको यकिन भइसकेपश्चात् मात्र त्यसको विरुद्ध एन्टी स्नेक भेनम चलाइन्छ।

उपयुक्त समयमा विष लागेको लक्षण पत्ता लगाउने, समयमै औषधि पाउने हो भने सर्पको टोकाइबाट हुने मृत्युबाट बच्न सकिन्छ।

सर्पको टोकाइबाट बच्न प्रयोग गरिने औषधि भारतबाट आउने र बेला बेलामा आपूर्ति अनियमित हुने हुँदा पनि यसप्रति सम्बन्धित निकायको चासो जानुपर्ने देखिन्छ साथै यो औषधि घोडाको शरीरबाट निकालिएको विभिन्न रसायनबाट बनाइने हुँदा भारतमा पशु अधिकारकर्मीहरुले जीवजन्तु मार्न पाइँदैन भनी आवाज उठाउँदै आएको पनि पाइन्छ। यसले गर्दा बेला बेलामा औषधि आपूर्तिमा असर पुग्छ। यसप्रति पनि नेपाल सरकारको ध्यान जानु जरुरी देखिन्छ ।

स्वास्थ्य खबर पत्रीकाबाट ।

About janmabhumi