जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लुम्बिनी चिनी मिलले किसानको सबै रकम बैंकमा जम्मा गर्‍यो

परासी : पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई तिर्नुपर्ने सबै रकम बैंक खातामा जम्मा गरेको छ । रकम नतिरेपछि प्रहरीले उद्योगी मनोज अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

हप्ता दिनभित्र रकम जम्मा गर्ने जिल्ला प्रशासन कार्यालयमा प्रतिबद्धता जनाएअनुसार अग्रवालले सबै रकम बैंकमा जम्मा गरेका हुन् । उद्योगले किसानलाई २ वर्षअघि देखिको ७ करोड ८० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले बताए । पहिलो चरणमा उद्योगले खातामा ३ करोड ८० लाख रुपैयाँ जम्मा गरेर भुक्तानी सुरु गरेको  थियो । खातामा जम्मा भएको रकममध्ये १ करोड १० लाख रुपैयाँ किसानको खातामा पठाइ सकिएको छ । भुक्तानीकै क्रममा सरकारले बैंक खाता बन्द गरेपछि बाँकी रकम किसानलाई पठाउन सकिएको थिएन ।

शुक्रबार बन्द भएको खाता सुचारु गरिएसँगै किसानलाई रकम पठाउन थालिएको छ । भुक्तानी दिनुपर्ने बाँकी ४ करोड रुपैयाँ नेपाल राष्ट्र बैंक आदर्श नगर विरगञ्ज शाखामा रहेको रकममध्ये बाट तिर्ने भनी अग्रवालले प्रशासन कार्यालयमा बैंक स्टेटमेण्ट बुझाएका छन् ।

‘बैंक स्टेटमेण्ट अनुसार अपुग ४ करोड रुपैयाँ अग्रवालको खाताबाट होल्ड गर्न नेपाल राष्ट्र बैंकलाई  पत्रचार गरेका छौं । उद्योगको स्वामित्व मनोजका नाउँमा आउने वित्तिकै बैंकमा होल्ड गरिएको रकम उद्योगको खातामा पठाएर वितरण सुरु गरिने छ,’ प्रजिअ पाठकले भने ।

तत्कालीन सञ्चालक मनिष अग्रवालको निधनपछि उद्योगको स्वामित्व उनकी पत्नि सुशिला गोयलको नाउँमा गएको छ । अंशवण्डाका क्रममा उद्योग मनोजको भागमा परेकाले केही दिनमा स्वामित्व हस्तान्रण भएपछि खातामा होल्ड गरिएको रकम वितरण गरिने प्रशासनले जनाएको छ ।

यता किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगले भने अहिलेसम्म रकम तिर्न बास्ता गरेको छैन् । पक्राउ पुर्जी जारी गरिएका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेर किसानको रकम भुक्तानी गराउने तर्फ पहल नगरिएको किसानहरुको गुनासो छ । अग्रवालको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ ।