जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लायन्स भृकुटीद्वारा वेद विद्याश्रममा सहयोग

पोखरा – ३, फाल्गुन
लायन्स क्लव अफ पोखरा भृकुटीले एक कार्यक्रमका विच पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा – १८, चिसाखोला आश्रमलाई भोजन तथा किचन सामग्री हस्तान्तरण गरेको छ ।


विद्याश्रम प्राङ्गणमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्लस्टर प्रमुख – २४ शिवराज आचार्यले संस्कार र संस्कृतिको लोप हुन लागेको अहिलेको अवस्थामा वेद विद्याश्रमले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै लायन्स भृकुटीले वैदिक तपोभूमिमा गरेको सहयोगको प्रशंसा गरे ।
कार्यक्रम संयोजक लायन्स लक्ष्मी पाण्डेले वेद विद्याश्रमको शैक्षिक र वैदिक कार्यले प्रभावित भएर आश्रमको समस्यालाई समाधान गर्न क्लवमा सिफारिस गरी ल्याएको किचन सामग्री तथा भोजन दान ग्रहण गरिदिएकोमा वेद विद्याश्रम परिवारलाई धन्यवाद दिँदै सवैलाई सहयोग गर्न आग्रह समेत गरिन् ।


क्लवका अध्यक्ष तथा कार्यक्रमका सभापति लायन्स दुर्गा अधिकारीले वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा सहयोग गर्न पुगेको तर वेद विद्याश्रममा आउँदा छुट्टै आनन्द आएको वताइन् । इमान्दारीताका साथ वैदिक ज्ञान आर्जन गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै, वैदिक संस्कार, संस्कृति उत्कृष्ट रहेको कुरा प्रस्ट्याइन् ।
वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधि बारे प्रकाश पार्दै लायन्स भृकुटीले गरेको सहयोग अतुलनीय रहेको बताए । साथै सहयोगी संस्था एवं संस्था परिवारलाई धन्यवाद दिए ।


विद्याश्रमका विद्यार्थी वटुकहरुले वैदिक स्वस्तिवाचन तथा भजनद्वारा दाताहरुलाई स्वागत सम्मान गरेका थिए भने ९७ वर्षीय वेदगुरु अग्निहोत्री पं. कोदारनाथ उपाध्यायले आशिर्वाद मन्त्रद्वारा आशिर्वाद दिए । क्लवका तर्फबाट उपाध्यक्ष शकुन्तला आचार्य, कोषाध्यक्ष ला. शुशिला पराजुली सुवेदी लगाएतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव ला. सम्झना रानाभाटले गरेकी थिइन् ।