जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रारा तालमा बढे आन्तरिक पर्यटक

मुगु — दसैं सकिएसँगै रारामा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । काठमाडौं, बुटवल, विराटनगर, झापा, सर्लाही, नेपालगन्ज, पोखरालगायत ठाउँबाट पर्यटक आएका छन् । अहिले दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटक रारा आइरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारी र लकडाउनका कारण झन्डै सात महिना सुनसान बनेको रारामा पर्यटक आउन थालेपछि चहलपहल बढेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले बताए । सडक र हवाईमार्गबाट दैनिक आन्तरिक पर्यटक रारा भित्रिरहेको उनको भनाइ छ । ‘भीड बढ्दै गएको छ,’ उनले भने, ‘पर्यटक बढेसँगै रारा क्षेत्रका होटल र गाउँ भरिभराउ हुन थालेका छन् ।’ असोज र कात्तिकमा मात्रै रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएको उनले जानकारी दिए । सहरी क्षेत्रबाट मोटरसाइकल र जिप चढेर आन्तरिक पर्यटक रारा आउने गरेका हुन् । आन्तरिक पर्यटक बढेपछि रारा विमानस्थलमा उडान पनि थपिएको छ । अहिले सुर्खेत र नेपालगन्जबाट तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँच वटासम्म उडान गरिरहेका छन् । रारामा आन्तरिक पर्यटक बढेपछि होटल सञ्चालक, घोडा व्यवसायी, ढुंगा चालकलगायत स्थानीय व्यस्त हुन थालेका छन् ।

दसैंयता दैनिक ७ हजार रुपैयाँसम्म कमाइ हुन थालेको मुर्माका घोडा व्यवसायी खेमबहादुर रोकायाले जानकारी दिए । उनले रारा आउने पर्यटकलाई घोडामा मुर्माटप, मिलीचौर, सल्लेरी, लामाचौर, माझघट्टलगायत ठाउँ घुमाउने गरेका छन् । ‘पर्यटकको चापले हाम्रो कमाइ पनि बढेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनले सजिलै बजार पाएको छ ।’