जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मोरङमा शिक्षक हत्याः हात बाँधेर घाँटी रेटिएको अवस्थामा शव भेटियो

जन्मभूमि खबर । बिहान मोरङ मिक्लाजुङको एक विद्यालयका प्रधानाध्यापकको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ। श्रेष्ठ सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। अपहरण भएपछि श्रेष्ठलाई खोज्दै जाँदा जंगलमा शव फेला परेको हो।

५/७ जनाको अज्ञात समूहले श्रेष्ठलाई घरबाटै मंगलबार बिहान अपहरण गरी घरदेखि लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा हत्या गरी छाडेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई अपरहण गरेर लगेको करिब १ घण्टापछि जंगलमा बन्दुको ठूलो आवाज आएका कारण गोली प्रहार गरिएको खबर स्थानीयले दिएको प्रहरीले जनाएको छ। घटना पश्चात घटनास्थल पुगेको प्रहरी टोलीले उनको हत्या गोली प्रहारबाट नभई धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर र टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

घटनास्थलमा करिब ८ घण्टापछि दिउँसो ३ बजेतिर मात्रै प्रहरी पुगेको थियो। त्यहाँ पुग्दा दुवै हात बाँधी उतानो परेको र आधा भाग घाँटी रेटिएको तथा जमिनमा मडारिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो। घटनास्थलमा लाठी, श्रेष्ठले लगाउने टोपी, चप्पल र मोबाइल प्रहरीले फेला पारेको छ।

‘घटनास्थलमा मोरङ प्रहरीको टोली पुगी सकेको छ,’ प्रदेश १ का प्रमुख डिआइजी इश्वरबाबु कार्कीले भने, ‘मृतकको दुवै हात पछाडि बाँधेको र घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ। स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा गोली हानेर हत्या भएको जानकारी दिएपनि मृतकको शवमा गोली प्रहार भएको देखिएन।’

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले विप्लव समूहका कार्यकर्ताले अपहरण गरी हत्या भएको सूचना रहेको जानकारी दिए। ‘दिउँसो प्रहरी पुगेर घटनाको अनुसन्धान थाली सकेको छ,’ एसपी खड्काले भने, ‘हामीले विभिन्न समूह बनाएर सबैतिरबाट घटनास्थल पुगेका छौं। घटनामा संलग्न भएकाहरूको विशेष तरिकाबाट खोजी कार्य थालेको र उनीहरू भागेर जान सक्ने सबै नाकामा प्रहरी परिचालन गरेका छौं।’

‘घटनास्थल पाँचथरको सीमामा रहेको हुँदा त्यसतर्फ भाग्न सक्ने भएकाले हामीले त्यहाँ पनि समवन्य गरेर नाका र अन्य स्थानमा विशेष निगरानीको व्यवस्था गरेका छौ,’ एसपी खड्काले भने, ‘घटना कसले गराएको भन्ने यकिन नभए पनि विप्लव समूहले गराएको हुन सक्छ।’

२०४६ सालबाट शिक्षण पेशा सुरु गरेकाश्रेष्ठ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्यहुन्।श्रेष्ठकी ५३ वर्षीया श्रीमती धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँस पानी दिन र काम गर्न गएको अवस्थामा घटना भएको प्रहरीलाई बताएकी छन्। मृतक श्रेष्ठका ३० वर्षीय छोरा छत्रबहादुर मिक्लाजुङको मधुमल्लामा बस्छन् भने २८ वर्षीया छोरी पूजा श्रेष्ठको बिहे भइसकेको छ।

‘१० वर्षे द्वन्द्वकालपछि भएको शान्ति सम्झौता पछाडि भूमिगत पार्टीले मोरङमा पहिलो पटक सर्वसाधारणको हत्या गरेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘मिक्लाजुङको उत्तरी क्षेत्र विकट रहेकाले सहजै सबैको पहुँच नपुग्ने भएकोले पनि भूमिगत भएको नेकपा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो गतिविधि यहाँबाटै सञ्चालन गरिरहेको छ।’

त्यो क्षेत्र पाँचथर, इलाम र मोरङको सीमा हो। पछिल्लो समय विप्लव समूहले आधार इलाका बनाएर बसेको सूचनाका आधारमा प्रहरी विशेष निगरानी बढाउँदै आएको थियो। प्रहरी स्रोतका अनुसार विप्लव समूहले त्यस क्षेत्रमा तालिम र अन्य विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कविन्द्रकुमार कार्कीका अनुसार प्रदेश १ बाट विभिन्न समयमा ‘विप्लव’ समूहका २ सय ४ जना पक्राउ परेको छन्। ‘सरकारले ०७५ सालमा ‘विप्लव’ समूहलाई प्रतिबन्धित गरेपछि हालसम्म प्रदेशबाट २ सय ४ जनालाई पक्राउ गरी अदालतमा पेश गरेका छौं,’ प्रवक्ता डिएसपी कार्कीले भने, ‘पक्राउ परेका ‘विप्लव’समूहका कार्यकर्तालाई विभिन्न मुद्दामा अदालतको आदेशानुसार हाल २९ जना कारागारमा कैदीबन्दी रहेका छन् भने ७ जना अनुसन्धानका क्रममा थुनामा रहेका छन्। अन्य १ सय ६८ जनामध्ये कैयौंले कैद भुक्तान र केहीले तत्कालै अदालतबाट भएको आदेशले कैद मुक्त भएका छन्।’

हालसम्म ‘विप्लव’समूहका कार्यकताका साथबाट पेस्तोल १२ थान, भरुवा बन्दुक ५ थान, एसएलआर १ थान, राइफल १ थान तथा सकेट बमलगायत अन्य विभिन्न बिस्फोटक पदार्थ बरामद गरेको डिएसपी कार्कीले बताए।