जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मे महिनाको मध्यसम्म साउदी अरबमा यात्रा प्रतिबन्ध

साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याइएको छ । साउदी अरब सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरेको हो ।

नयाँ निर्णयअनुसार नागरिकले आगामी १७ मेसम्म यात्रा गर्न नपाउने अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरस महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रिक क्षेत्रमा जान, हवाई तथा स्थलमार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको १३ मार्चदेखि नै प्रतिबन्ध लगाइएको हो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधि लम्ब्याउनुपरेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा दुईजनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा  कोरोना भाइरसबाट कुल ६ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ । रासस