जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुक्तिनाथ मन्दिर पुष २१ गते बाट खुल्ने

जन्मभूमि खबर ,मुस्ताङ, १७ पुष । कोरोना महामारीका कारण विगत ९ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । हिमाली जिल्ला मुस्ताङको एकमात्र गहना एवं सबैको साझा सम्पत्ति मुक्तिनाथ मन्दिर खुलाउन सम्पूर्ण स्थानीयबासी सकारात्मक भएपछि यही पुष २१ गतेबाट खुल्ने भएको हो ।
जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायहरु र मुक्तिनाथका स्थानीयबासीहरुको ऐक्यबद्धतामा मुक्तिनाथ खुल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि ढोका खुलेको हो । छिमेकी जिल्लाहरुका विभिन्न निकायहरुको चर्को दबाब तथा जिल्ला प्रशासन कार्यालयको सकारात्मक पहलबाट यो काम सम्भव भएको हो ।
विशेष गरी वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाले गरेको उदाहरणीय कार्यले अब भने मुक्तिनाथबासी आ–आफ्नो व्यापार व्यवसायमा फर्किने भएका छन् ।
आज बसेको सर्वदलीय बैठकद्वारा मुक्तिनाथ मन्दिर खुलाउनका लागि ४ बुँदे समझदारी भएको हो । अन्ततः गहन छलफल र निस्कर्षबाट मुक्तिनाथ मन्दिर खुलाउदा पालना गर्नुपर्ने चार वटा बुँदामा निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले आज भएको निर्णयमाथि स्थानीयहरुलाई प्रष्ट पारेकी थिइन् ।
प्रदेशसभा सांसद महेन्द्रबहादुर थकालीले करिब नौ महिनादेखि बन्द मुस्ताङ र चर्चित धार्मिक स्थल मुक्तिनाथ मन्दिर खुलाउन भएको पहलले सही बाटो लिएको बताए ।
जिल्लास्थित सरोकारवाला निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र पहरी, जनप्रतिनिधि लगायतले गरेको आजको कामले अब मुस्ताङ जिल्लाको मुहार फेरिने उनले बताए ।
उनले भने, ‘आजको मितिले यही पुष २१ गतेबाट मुक्तिनाथ मन्दिर खुल्ने बताउनुभयो । अब स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी र बाह्य पर्यटकहरुलाई मुक्तिनाथ मन्दिर र मुस्ताङको विभिन्न स्थानहरु घुम्न अनुरोध गर्दछु ।’
त्यस्तै, वारागुँ मुक्तिक्षेत्र गाउँपालिका प्रमुख फेन्चोक छेप्टेन गुरुङले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर मुक्तिनाथ मन्दिर खुलाउने छलफल भएको भएतापनि अझै आवश्यक कामहरु बाँकी रहेकोले अझै केही दिन लाग्ने बताए ।
एनले अनुसार मन्दिर खुलाउनका लागि आवश्यक स्वास्थ्य सामग्रीको पूर्ण व्यवस्थापन भएपछि मात्र खुलाउने बताए ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले लामो समयको अथक प्रयासपछि मन्दिर खुल्न लागको बताइन् । मन्दिर खुलेपछि भीडभाड हुनेभएपछि आवश्यक सुरक्षाविधि अपनाउनकै लागि भनेर चार ओटा बुँदामा सहमति भएको बताइन् ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङले मुक्तिनाथ मन्दिर खुलाउन धेरै पहलकदमीहरु भएको बताइन् । साथै मुक्तिनाथ मन्दिर धार्मिक एवं पर्यटकीय स्थल भएकोले पनि खुलाउन जरुरी रहेको उनले बताइन् ।