जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुक्तिनाथ मन्दिर खुल्न अझै केही दिन लाग्ने

मुस्ताङ, १६ पुष । हिमाली जिल्ला मुस्ताङको गहना मुक्तिनाथ मन्दिर खुलाउन जिल्लास्थित सरोकारवालाहरु सकारात्मक देखिएका छन् । नौ महिनासम्म बन्द मुक्तिनाथ मन्दिर र कागबेनीधाम खुलाउन चारैतिरबाट सकारात्मक दबाब आएपछि यस किसिमको पहल भएको हो ।

जिल्लाको गहनाका रूपमा ख्याती कमाएको मुक्तिनाथ मन्दिर खुल्यो भने आम मुस्ताङबासीको दैनिकीमा धेरै परिवर्तन आउनसक्ने स्थानीयको भनाइ छ । यसले गर्दा छिमेकी जिल्लाहरु समेत आर्थिक हिसाबले धेरै नै राम्रो हुने देखिएको छ ।

गत वर्षहरुमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्रने मुस्ताङमा यस बर्ष कोरोना भाइरसको कारण मुस्ताङ जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु नौ महिनासम्म बन्द भएको हो । यद्यपि चर्चित ढुम्बा ताल भने आंशिक रुपमा खुलेको थियो ।

देशी तथा बिदेशी पर्यटकको प्रमुख रोजाईमा रहेको मुक्तिनाथ मन्दिर र कागबेनीधाम खुलाएमा जनताको रोजिरोटीमा आमूल परिवर्तन आउन सक्ने सरोकारवालाहरुको भनाइ रहेको छ । एक सातादेखि मुस्ताङको होटलहरु खुलाउनका लागि जिल्ला प्रशासन कार्यालयले आवस्यक पहल गरेपछि अहिले जोमसोम सदरमुकाम आसपासका होटेल तथा रेस्टुरेन्टहरु खुल्न थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन्, ‘जिल्लामा आवश्यक सुरक्षा अपनाएरै हामीले होटलहरु खुलाउन भनेका हौं ।’ उनले थप भनिन्, ‘अब मुस्ताङ पूर्ण रूपमा खुलेको छ । केही दिनमै हामी मुक्तिनाथ मन्दिर पनि खुलाउने छौं ।’

मुक्तिनाथका स्थानीय जनताको दबाबकै कारण अहिलेसम्म मुक्तिनाथ मन्दिर नखुलेको प्रजिअ पौडेलले बताइन् । उनले भनिन्, ‘बिगत एक महिनादेखि हाम्रो प्रयास जारी छ । मुक्तिनाथ कसैको निजी पेवा हैन । आम नेपाली जनताको साझा सम्पत्ति हो ।’

प्रमुख सडकहरुनै बन्द गराएर साझा सम्पत्तिलाई बन्दी बनाउन नहुने बताउँदै उनले भनिन्, ‘अब केही दिनबाटै मुक्तिनाथ खुलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, राजनैतिक दल, नागरिक समाज र पत्रकारहरूको पहलमा मुक्तिनाथ मन्दिर, कागबेनीधाम र अन्य पर्यटकीय स्थलहरु खुल्नेछ ।’

यता वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–२ का अध्यक्ष छिरिङ लामा घ्याले मुक्तिनाथ मन्दिर खुलाउनका लागि अहिलेसम्म सबैजना सकारात्मक नै रहेको बताए । आवश्यक सुरक्षा बिधि अपनाएर मन्दिर खुलाउन सदैब सकारात्मक रहेका छौं उनले बताए ।

उनले भने, ‘जिल्ला अस्पतालमा प्रयाप्त स्वास्थ्य सामग्री नहुँदा अप्ठ्यारो परेको हो । जिल्लाको एकमात्र अस्पतालमा आवस्यक भेन्टिलेटर र आईसीयू छैन । बिरामी भइहालेमा समस्या झन् निम्तने हो कि ? भन्ने डरले मुक्तिनाथका स्थानीयले मन्दिर खुलाउन चाहेका छैनन् ।’

मन्दिर खुलेमा पर्यटकको चाप बढ्नसक्ने लामाको भनाइ रहेको छ । हिजो बसेको बैठकबाट मन्दिरको अग्रभागमा खटेर पुजा गर्ने पुजारी र आनीहरुलाई पीपीई, मास्क, सेनिटाइजरलगायतको स्वास्थ्य सामग्री उपलब्ध भएमा र स्थानीयहरु जटिल बिरामी भएको अवस्थामा मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले खर्च बेहोर्नुपर्ने निर्णय गरिएको उनले बताए ।

उक्त मागहरु पूरा भएमा स्थानीयहरु मन्दिर खुलाउन तयार हुने उनले बताए । अब दोस्रो बैठक भोलि ११ बजे मुक्तिनाथ मन्दिरमा हुनेछ । लामाले भोलि गएर पछुताउनु भन्दा अहिल्यै चनाखो हुनुपर्ने बताए । उनले थप भने, ‘हामी मुक्तिनाथ मन्दिर खुलाउन सकारात्मक छौं । खाली सुरक्षा मापदण्ड अनुसार काम कारबाही अगाडि बढाउन जिल्लास्थित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका हौं ।’

लामो समयसम्म व्यापार व्यवसाय ठप्प हुँदा व्यवसायीहरुलाई निकै असर पुगेको छ । बिशेषगरि होटल भाडामा लिएर बस्नेहरुको मर्म शब्दमा बयान गरेर साध्य नै छैन । नौ महिनासम्म होटल, रेस्टुरेन्ट, कोसेली घर लगायत अन्य धेरै व्यवसायीहरु मारमा परेको उनीहरुको भनाइ छ ।

अझ भनौं होटल व्यवसायीहरु नमज्जाले समस्यामा परेका पाइन्छन् । दैनिक लाखौं रकम हात पार्ने व्यवसायीहरु अहिले ढोका लगाएर घरभित्र बस्न बाध्य छन् । मुक्तिनाथस्थित होटल साम्बलाका सञ्चालक एवं युवा समाजसेवी सुरज गुरुङले आम मुस्ताङ बासीको दैनिकीमा नराम्रोसँग असर परेको बताए ।

अब मुक्तिनाथ मन्दिर खुलाउन सकारात्मक दबाबको आवश्यकता रहेको समेत उनको धारणा रहेको छ ।