जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भ्रुण हत्या आरोपमा बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक शर्मा पक्राउ

जन्मभुमि खबर । श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मालाई जिल्ला प्रहरी कार्यालय, पर्वतले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका थिए ।

प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा न्याय माग्दै उजुरी दिएकी थिइन् । घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा स्थानान्तरण भएको थियो ।

अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पीडित युवती र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाहको तयारी गरेका थिए ।

शर्माले श्रीमानले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपिल समेत गर्दै आएकी छिन । मुद्धा दर्ता भएसँगै आवश्यक कानूनी प्रक्रिया अघि बढेको जिप्रकाले जनाएको छ । फौजदारी कसुरमा मुद्दा दर्ता भएसँगै शर्मा निलम्बनमा पर्ने कानूनी प्रावधान रहेको छ ।

चिनजानबाट प्रेम, शारीरिक सम्बन्ध हुँदै प्रेम विवाह गरेका शर्मा दम्पत्तिबीच पछिल्लो समय सम्बन्धमा खटपट आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । श्रीमानले आफूलाई जबर्जस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा नलगेको, आफूलाई यातना दिने गरेको र सरुवा भएर गएपछि आफूसँगको सम्पर्क छुटाएर अलपत्र पार्ने काम गरेको भन्दै स्मृतिले सामाजिक सञ्जालमा समेत लेख्दै आएकी छिन ।