जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवाताल जलाधारको सीमाङ्कन पूरा

१२३ वर्ग किलोमिटर क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरिने

जन्मभुमि खबर। पोखरा, १७ मंसिर-४६ वर्षअघि सुरु गरिएको फेवाताल जलाधार क्षेत्र सीमाङ्कनको कामले पूर्णता पाउने आशा पलाएको छ । जिल्ला भू–तथा जलाधार संरक्षण समिति जलाधार क्षेत्रको पहिचान गर्दै सीमा कोरेपछि यो आशा पलाएको हो । जलाधार क्षेत्रको करिब निक्र्योल गरिएको छ ।
फेवातालको ड्यामलाई तालको निकास बिन्दु मानेर सीमाङकन गर्दा करिब १२३ वर्ग किलोमिटर क्षेत्रफल रहेको निष्कर्ष निक्लिएको छ । सीमाङ्कनको ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी २० प्रतिशत भने स्थानीय, सरोकारवालाहरुसँगको छलफल रहेको जिल्ला भू तथा जलाधार संरक्षण समितिका सदस्य सचिव रामकृष्ण थापाले जानकारी दिए ।
विश्वकै उत्कृष्ट तालमध्ये पर्ने र पोखराको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको फेवातालको सीमाङ्कको काम पूरा गर्दै यसअघि नै जलाधार क्षेत्रको चारकिल्ला कायम गरिएको छ । पोखरा महानगर वडा १७ मा रहेको ड्यामलाई निकास बिन्दु मान्दै पूर्वतर्फ ड्यामसाइडबाट राष्ट्रबैकंचोक, सिर्जना चोक, विन्ध्यवासिनी,लामागाउँ र सराङ्कोट । उत्तरतर्फ सराङकोटुहँदै मान्द्रेढुङ्गा, बान्थले डाँडा फल्लापानी, नौडाँडा,अधेरी शिरु, देउराली, र पन्चासे । पश्चिमतर्फ पन्चासेहुँदै डाँडाकटेरी, सीमाना डाडा, पल्याम चौतारी, काउलेपानी, लकुस्वाँरा र विश्व शान्ति स्तुपा क्षेत्रको फेवातर्फ रहेको भाग । त्यसतै दक्षिणतर्फ विश्वशान्ति स्तुपाहुँदै रानीबन, पार्दी ड्याम साइड रहेका छन् । यी क्षेत्रहरु फेवाताको पानीका स्रोतहरु हुन । फेवातालको मुख्य पानीको स्रोत भने हर्पन खोला र अधेरी खोला हुन । यी बाहेक खहरे खोला, बेतनी, कान्जिरे,खपौदि,बलौदि, फिर्के, लौरुक,भुपन खोला, सिंघारे,ढन्ढुरो,ठोट्ने, घट्टे, ओर्लाङ र कटुचे खोला सहायक स्रोत हुन् । फेवा जलाधार क्षेत्र घोषणा पश्चात ती क्षेत्रहरुमा मापदण्ड लागू गरिने छ । फेवाताललाई जोगाउन मुख्य तथा सहायक खोलाहरुमा चेक ड्याम बनाउने कार्य भइरहेका छन । सो क्षेत्रभित्र के–के गर्न पाइन्छ भन्ने विषय छलफलकै क्रममा रहेकाले टुंगिएको छैन ।
‘जलाधार क्षेत्र घोषणाको लगभग सबै काम सम्पन्न भएका छन । अब स्थानीयहरुसँग छलफलको काम मात्र बाँकी छ । त्यो पनि कोरोनाले रोकिएको हो अब निरन्तरता दिन प्रस्ताव गरेको छु’, सदस्य सचिव थापाले भने । फेवाताललाई अब नजोगाए अबको २०–२५ वर्षमा बागमतीको जस्तो अवस्था आउने खतरा रहेको थापाले बताए । छलफल पछि व्यवस्थापन हुने र तालमा पानीको क्षेत्र, भू–उपयोग गरिएको क्षेत्र, सामुदायिक वन क्षेत्रको वर्गींकरणको काम हुने जानकारी दिए । पानीको भाग, जमिन र बनको भाग सावित भएपछि कार्यान्वयन गरिने थापाले बताए । ‘विभिन्न कारणले फेवातालको क्षेत्र खुम्चिदैँ गएको अवस्था छ । यो विगतमै हुनुपर्ने काम हो तर हुन सकेन । फेवाताल तालमात्र होइन यो हाम्रो गौरवको विषय पनि हो । त्यसैले तालको संरक्षण गर्नकै लागि जलाधार क्षेत्र घोषणा गर्न लागिएको हो’, थापाले भने । २०३१ साल देखि नै भू तथा जलाधार संरक्षण विभागबाट फेवा जलाधार क्षेत्र संरक्षणका काम हुँदै आएपनि प्रभाकारी हुन भने सकेको छैन । फेवा जलाधार क्षेत्रमा बढ्दो बसोबास, प्राकृतिक स्रोतको दोहनले संकट निम्तिएको छ । जलाधार क्षेत्रभित्र मापदण्ड विपरित ठूला–ठूला होटलहरुसमेत सञ्चालनमा आएका छन् । जलाधारको दुई तिहाई भाग उच्च भूक्षय संभावित क्षेत्र रहेको छ । हल्लनचोक देखि पामेसम्म तालकै छेउमा होटलहरु बनेका छन । तर, सरकार भने मौन बसेको छ । फेवाताल रामसार क्षेत्रमा सूचिकृत हुँदासमेत अव्यवस्थित बसोवासर सिमसार पुर्ने काम रोकिएको छैन । २०७६ सालमा सर्वोच्चले जलाधार क्षेत्र घोषणा गर्न परमादेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन आएको छैन । सर्वोच्चको आदेशपछि प्रदेश सरकारले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन र नक्साङ्कन गर्न जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्य पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । यता, महानगरले तयार पारेको तथा प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा फेवाताल संरक्षणको लागि ताल वरपरका जग्गाको मुआब्जा दिनुपर्ने र सो रकम १० अर्ब हाराहारी हुने किटान गरिएको छ ।