जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पौडेलले गरे तनहुँको बुल्दीखोला पुल उद्घाटन

जन्मभुमि खबर,पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गरेका छन् । पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका हुन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए। उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराईलगायत नेताहरू पनि सहभागी थिए ।

बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन ।  यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्घाटन हुन सकेको थिएन।