जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा रंगशालामा ८ महिनापछि सुरु भयो खेलकुद गतिविधि

जन्मभुमि खबर,पोखरा । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ । ८ महिना बन्द भएको रंगशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद सहरको रुपमा स्थापित पोखरामा खेल गतिविधि सुरु भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
सरकारले गत मंसिर १ पछि खेलगतिविधि सुरु गर्ने निर्णय गरेको थियो । रंगशाला तथा खेलकुद प्रशिक्षण स्थलहरु लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट बञ्चित भएका थिए । फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, कराँतेलगायतका खेलका खेलाडीहरु अभ्यासका लागि रंगशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताएका छन् ।
यसैगरी पोखरामा निजी क्षेत्रबाट सञ्चालित शारीरिक अभ्यास स्थलहरु (जिम सेन्टर), फुटसलहरु पनि सञ्चालनमा आएपछि खेल गतिविधि सामान्यीकरण हुँदै गएको बताइन्छ । कार्यालय प्रमुख बरालले भने, ‘सरकारले निर्देशनपछि तिहार लगत्तै हामीले बन्द रंगशाला खेलाडी तथा प्रशिक्षकहरुलाई अभ्यासका लागि खुला गरेका छौं । अझै कोरोना त्रास कायमै रहेकाले साविकमा जस्तो अवस्था नरहेपनि विस्तारै सामान्यीकरण हुँदै गएको छ, सबै खेलका २५ प्रतिशत हाराहारीमा अभ्यास गतिविधिहरु सञ्चालित छन् ।
रंगशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल संघ, खेलाडी तथा प्रशिक्षकलाई आग्रह गरिएको समितिले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई पहिलो शर्त बनाइएको बताइन्छ ।
भलिबल, टेनिस, व्याडमिन्टन, बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्धेश्यीय कभर्ड हल रंगशालाभित्र छ । क्रिकेट मैदान तयारी तयार रहेपनि पूर्वाधार बनाउन बाँकी छ ।