जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोना संक्रमणबाट २ जनाको निधन

लमजुङका १ जनाको समेत आज पोखरामा कोरोना भाइरस संक्रमणबाट निधन

जन्मभुमि खबर ,पोखरा । पोखरामा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । कोरोनाबाट पछिल्लोपटक ज्यान गुमाउनेमा लमजुङका १ जना रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ की ७५ वर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ बजे ज्यान गएको हो । उनलाई कार्तिक २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा ९ की ८३ वर्षीय वृद्धाले समेत पछिल्लो पटक कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको आज बिहान साढे ७ बजे फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता लमजुङका १ जनाको समेत आज पोखरामा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको बेसीसहर नगरपालिका वडा नम्बर ५ का ७१ वर्षीय पुरुषको बुधबार बेलुका ६ बजेर ४५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा थप ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु तनहुँमा ५, स्याङ्जाका १, नवलपरासीका २२, लमजुङका ३, बाग्लुङका १ तथा गोरखाका ९ जना रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ५ सय ८९ पुगेको छ ।