जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका आठजना प्यारापाइलटलाई अनिश्चितकालसम्म उडानमा रोक

जन्मभुमि खबर , पोखरा । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठजना प्यारापाइलटलाई अनिश्चितकालसम्मको लागि उडानमा रोक लगाएको छ ।

प्याराग्लाइडिङ उडानमा हेलचक्र्याईँ गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उनीहरुलाई अनिश्चितकालसम्मको लागि उडानमा रोक लगाएको हो । उनीहरुलाई अनुसन्धान र स्पष्टीकरणको लागि भन्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन् पनि क्यानले सोमबार पत्राचार पनि गरेको छ।

क्यानले प्याराग्लाइडिंग उडानमा रोक लगाएका प्यारापाइलटहरुमा युकेश गुरुङ, सहिल खान,, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवर रहेका छन्।

अनुसन्धानमा बोलाइएका आठ पाइलटमध्ये एकजना युकेश गुरुङ पनि छन् । उनी गतवर्ष नेपाल स्पोर्ट्स अवार्डमा उत्कृष्ट पुरुष खेलाडीसमेत बनेका थिए । एसियाडमा रजत दिलाएका युकेशले स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकपमा कास्यपदक पनि पाएका थिए ।

दुई साताअघि पोखरामा प्याराग्लाइडिङ टेण्डम (यात्रुसहित) फ्लाइट दुर्घटनामा परि पाइलट राजु विकको ज्यान गएको थियो । यसलाई टेण्डम फ्लाइटमा पाइलटको नै ज्यान गएको पहिलो घटना भनिएको छ । उक्त दुर्घटनाको विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् ।

उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहोर्‍याएको भन्दै आठजना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो । यात्रुलाई उडाउने क्रममा ती पाइलटले सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गर्दै आएका थिए ।

क्यान पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँका अनुसार ती पाइलटले उडानकै क्रममा पात टिप्ने, फूल टिप्ने, फेवातालमा खुट्टा छुवाउने जस्ता कार्य गर्दै आएका थिए । यी गतिविधी उडानको नियमले वर्जित गरेको छ ।