जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पीसीआरको शुल्क एक हजार : अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार लिने जानकारी दिए।

यसअघि पीसीआर परीक्षण शुल्क दुई हजार लिने गरेको थियो । यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ ।

यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका  मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए ।