जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन शुरु

काठमाडौं : पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित् ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा पठनपाठन शुरु गरिएको हो ।

गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

कारोनाकै कारण लामो समय विद्यालयका विद्यार्थी र शिक्षकले अनलाइनको माध्यमबाट नै पठनपाठन अघि बढाएका थिए । एक हप्ताअघि नै काठमाडौं महानगरपालिकाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको काठमाडौं– २७ का सदस्य परिवेशमान बज्राचार्यले बताए ।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए ।

नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ। पुनःनिर्माणपछि विद्यालयमा प्रतिकक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः ६ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

नयाँ भवनमा प्रयोशाला समेतको सुविधा र अङ्ग्रेजीमा ध्यममा पढाइ हुने गरेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो । रासस