जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पशु–पन्छीलाई दिइने ‘ग्रोथ हर्मोनले ‘ यस्तो असर गर्छ मानव स्वास्थ्यमा !

पोखरा,२ कात्तिक।

हिजो आज व्यापारिहरूले नाफाका लागि पशु–पन्छीको छिटो बृद्धि–विकास गराउन ‘ग्रोथ हर्मोन’लगायतका औषधि दिनु सामान्य भइसकेको छ । तर, त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परिरहेको छ । पशुलाई दिइएको त्यस्तो औषधि दुध, मासुमार्फत मानव शरीरमा प्रवेश गर्दा सामान्य रोग लाग्ने वित्तिकै ‘एन्टिबायोटिक’ प्रयोग गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

 

गाइ–भैसीको दुध बढाउन दिइने ‘अक्सिटोसिन’ले जनावरको आयु मात्रै घटाउँदैन, त्यसरी औषधि खुवाइएका गाई–भैंसीको दुध पिउँदा मानब स्वास्थ्यमा पनि गम्भीर असर पर्ने जानकारहरू बताउछन्। विशेषत किशोरीमा कम उमेरमा महिनावारी हुने र हर्मोनको गडबडी हुने समस्या पनि निम्त्याउँछ । आज भोलि पोल्ट्री फर्मका कुखुरालाई छोटो समयमै अस्वाभाविक रूपमा बढाउन र चाँडै अण्डा पार्ने बनाउन ‘ग्रोथ हर्मोन’ दिइन्छ । जुन अन्ततः मासु र अण्डा खानेको मानिसको पेटमा पुग्छ ।

हुर्कन एक वर्ष लाग्ने कुखुरा दुई-तीन महिनामै बढी तौलको भएजस्तै नौ-दस वर्षका केटाकेटी वयस्कजस्तो देखिनुमा पशु–पन्छीलाई दिइने औषधिको नै कारक रहेको चिकित्सक बताउँछन् । आवश्यकताभन्दा चाँडो शारीरिक वृद्धि हुँदा सामान्यतया अर्धबैंसे भएपछि मात्र देखिनुपर्ने उच्च रक्तचाप, मधुमेह, हृदयघातजस्ता रोग किशोरावस्थामै हुन थालेको  छ । पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु, दुध निकै हानिकारक हुन्छ ।

पशु–पन्छीलाइ दिइने औषधि कालान्तरमा मानब स्वास्थ्यमा लागि मन्दविष हो । तर, त्यसतर्फ न उत्पादक सचेत छन् न उपभोक्ता । अझ, थोरै समयमा धेरै उत्पादनमार्फत मनग्गे मुनाफा लिन मात्राभन्दा बढी औषधि प्रयोग गर्ने, पशु चिकित्सकको सल्लाह नै नलिने र बिक्रिमा नियमन नगर्ने सरकारी प्रबृतिले पनि मानव स्वास्थ्यमा जोखिम बढिरहेको छ ।