जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतको बनौमा जीप दुर्घटना, एक युवतीको मृत्यु

कुश्मा : पर्वतको जलजला गाउँपालिका-९ बनौँमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनाका क्रममा घाइते भएकी जलजला गाउँपालिका-६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो।

कुश्मा–बनौँ सडकखण्ड अन्तर्गत ग २ च ६३७९ नं. को जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये कौशिला पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जानकारी दिएको छ। जीपका सवारी चालक जलजला-८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, जलजला ९ बनौ घर भइ सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन्। उनीहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सडकमा गुडिरहेको जीप सडकबाट करिब २ सय मिटर तल पुगेर भीरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ। रुखका कारण ठूलो दुर्घटनाबाट जोगिएपनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला- ९ का वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।