जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा

पर्वत, १९ कार्तिक । कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरमा फैलिए पछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ ।
त्यसैगरी जलजला गाउँपालिकामा मङ्गलबार रातिदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेला सम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।कोरोना सङ्क्रमण फैलन नदिन गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठक बसेर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । उनका अनुसार पछिल्लो समय समुदायस्तरमा दुई जनामा सङ्क्रमण देखिए पछि थप जोखिम नफैलियोस् भनेर लकडाउन गरिएको हो ।

यता जलजलाको मङ्गलबार सम्पन्न गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका वडामा सङ्क्रमण फैलन नदिनका लागि बुधबार देखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ । पछिल्लो समय छिमेकी जिल्ला र स्थानीय तहमा लकडाउन घोषणा भए पछि जलजला गाउँपालिकामा पनि थप सङ्क्रमण नफैलियोस् भनेर लकडाउन गर्ने निर्णय गरिएको जलजलाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।बैठकले गाउँपालिका भित्र सञ्चालित सबै वित्तीय संस्था, सहकारी संस्थाका कामकाज ठप्प पार्ने, मुख्य बजार क्षेत्र मिलनचोक, मोहनचोक, वारीवेनी, बगरफाँट, लस्तीलगायतका क्षेत्र बन्द गर्ने, निर्णय गरेको छ ।