जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालसँग शत्रुता कल्पना पनि गर्न सकिँदैन : भारतीय रक्षामन्त्री सिंह

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका छन् । भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वाताका क्रममा उनले नेपालसँगको शत्रुता आफूले कुनै पनि अवस्थामा कल्पना गर्न नसकिने बताएका हुन् ।

सिंहले नेपाल छिमेकी मात्र नभएर भाइ पनि भएकाले नेपालले भारतका बारेमा जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने उल्लेख गरे ।

रक्षामन्त्री सिंहले गत वैशाखमा पनि दाजुभाइका बीचका कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको र त्यसलाई संवादबाट हल गर्न सकिनेसमेत बताएका छन् ।

उनले नेपालप्रति कुनै पनि भारतीयको मनमा कटुता नरहेको र त्यस्तै नेपालीको मनमा समेत नरहेको भन्दै दुई देशबीच भावनात्मक सम्बन्ध रहेको पनि बताएका छन् ।

मन्त्री सिंहले दाजुभाइमा अविश्वास सिर्जना भयो भने पनि त्यसलाई बातचितबाट समाधान गर्न सकिने पनि उल्लेख गरेका छन् ।

साथै उनले दुई देशबीच रोटी–बेटीको सम्बन्ध भएको बिर्सन नहुने पनि बताएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणवाट फर्के लगत्तै भारतीय रक्षामन्त्रीको यस्तो भनाइ आएको हो ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने सडक उदघाटन गरेपछि नेपालसँग विवाद हुँदै आएको छ । पछिल्लो समय समस्या समाधानका लागि दुबै देशले कुटनीति पहल गरिरहेका छन् ।