जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि फेरि बोलाउने

शुक्रबार बोलाएको छलफलमा दाहाल-नेपाल समूह सहभागी नभएपछि ओली समूहका नेतासँग अनौपचारिक कुराकानी मात्रै भएको आयोगको भनाइ

काठमाडौँ — निर्वाचन आयोगले बोलाएको छलफलमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपा सहभागी नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी बोलाएको शुक्रबारको छलफलमा दाहाल–नेपाल पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको छ ।

शुक्रबार दाहाल–नेपाल पक्षले अध्यक्षद्वय कार्यक्रमको सिलसिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भए पनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

केपी शर्मा ओली पक्षबाट भने नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जनकारी गराएका थिए ।

त्यस्तै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

छलफलका क्रममा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरुबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको आयुक्त पौड्यालले स्पष्ट पारेका थिए । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलले बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।