जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने

जन्मभुमि खबर ,पोखरा । पहिलो चरणको कोभिड–१९ खोप अभियानका लागि गण्डकी प्रदेश १४ वटा खोप केन्द्र तोकिएको छ ।

सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी कास्कीमा ४ सहित १४ स्थानमा खोप केन्द्र तोकिएको जानकारी दिएको हो । भारतको सहयोगमा नेपाललाई प्राप्त खोपमध्ये गण्डकीलाई ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीसहित गण्डकी प्रदेशका अन्य १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएकोमा सबै जिल्लामा खोप पठाइसकिएको र आवश्यक तयारी पूरा भएको डा शर्माले बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार खोपको सुरुवात गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् ।
‘बिहान १० बजे प्रधानमन्त्रीले काठमाडौंमा सुरुवात गर्नु हुनेछ,’ मन्त्री पुनले भनिन्, ‘काठमाडौंमा उद्घाटन भएपछि हामी पनि गण्डकी प्रदेशमा सुरुवात गर्छौं ।’

गण्डकी प्रदेशमा प्राप्त कोभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने योजना रहेको जनाइएको छ ।