जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खानेपानी मन्त्री थापाले भने : श्री ५ को सरकार भनेकोमा क्षमा चाहन्छु

जन्मभुमि खबर । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले एउटा सभामा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’  भनेकोमा माफी मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा ‘नेपाल सरकार’ भन्नुपर्नेमा ‘श्री ५ को सरकार’ भनेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, ‘सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा …ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।’

मञ्चमा रहेका व्यक्तिले मन्त्री थापालाई नेपाल सरकार भन्न लगाएपछि उनले ‘ए सरी भन्दै नेपाल सरकारको तर्फबाट’ भनेका थिए ।

मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् ।

मन्त्री थापाले स्पष्टीकरण दिँदै भनेका छन्, ‘शनिबार नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

२०६२/०६३ को जनआन्दोलनपछि पुन:स्थापित प्रतिनिधिसभाले श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय गरेको थियो । पुनःस्थापित संसद्को २०६३ जेठ ४ गतेको बैठकले नेपाल सरकार लेख्ने निर्णय गरेको हो ।