जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना कहर स्वास्थ्य क्षेत्रमा यसको समस्या र चुनौतिहरु

पोखरा ।

विश्वमा विगत सात महिना देखी फैलिएको र नेपालमा पाँच महिना देखी सुरु भएको कोरोना कहरबाट हामी गुज्रिरहेका छौँ ।  दिन प्रतिदिन कहरबाट बाहिर कसरी निस्कने र सामान्य जीवनयापनका दिनचर्याहरु सुरुवात गर्ने भन्ने चिन्ता र चासोको विषय सिङ्गो मानवजातीमा बढीरहेको छ । अहिलेको विश्वको स्वास्थ्य अवस्था, हामी र हाम्रो पुस्ताले भोगेको ठुलो समस्याको रुपमा खडा भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी लगायत प्रत्यक्ष जनमानससंग सम्पर्कमा रहने व्यक्तिहरुलाई चुनौतिपुर्ण अवस्था रहेको छ । शुरुको पहिलो दोश्रो संक्रमित, दोहोरो अंक, तेहोरो अंक हुँदै अहिले पाँच अंकका संक्रमित संख्याको अवस्थावाट हाम्रो देश गुज्रदैँ छ । यस समस्याले हाम्रा आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । यस्ता प्रभावहरुलाई न्यूनिकरण गर्नका लागी मुलुकका सबै सरकारी संयन्त्र, संघ संस्था, संस्थान तथा निजी क्षेत्रलाई प्रभावकारी परिचालन गर्नुपर्ने अवस्था रहेको छ । तर अहिलेको राजनैतिक खिचलो मै रुमल्लिएको सरकारका गतिविधीहरु हेर्दा हामी जनताको विडम्बना बन्न पुगेको छ ।

 

कोरोना नेपालमा फैलिरहेको अवस्था देखि नै सरकारले विभिन्न संयन्त्रहरु परिचालन गर्दै आईरहेको छ तर पनि कोरोनाको प्रभावकारी परीक्षण सोचेजस्तो हुन सकिरहेको छैन । समुदायस्तरमा कोरोना फैलिरहेको अवस्थामा पनि राज्यले वृहत परीक्षण गर्नमा क्षमता नभएर चुकेको हो या आम मानिसहरुको जीवनसंग खेलवाड गरीरहेको छ त्यो Paradox Box भएको छ । जनताले विगतमा लगातार तीन महिना सम्मको लकडाउनमा राम्रो साथ दिएको अवस्थामा पनि सरकारले मौजुदा संसाधनलाई पूर्ण रुपमा प्रयोगमा ल्याउन सकेन भनेर विज्ञहरुको धारणा आएको अवस्था छ । हाम्रो राज्यको सिमित क्षमता, दक्षताको कमी, स्वास्थ्य सामग्री लगायतका स्वास्थ्य पूर्वाधारको कमी लगायतका समस्याहरुबीच पनि हाम्रो देशको स्वास्थ्य क्षेत्रले जोहोका साथ कहरलाई साथ दिदै आएको छ । हाल सम्मको यस प्रयासलाई हृदय देखी नै सम्मान गर्नु पर्दछ । हाल सम्मको अवस्थालाई हेर्दा कोरोनालाई खासै कुनै लक्षण देखा नपरेको र सघन उपचार कक्षमा राखेर उपचार गर्नपर्ने अवस्था समेत नरहेको हुँदा महामारीलाई त्यति समस्याको रुपमा नहेरिएको पनि हुन सक्छ । तर केहि दिनयता दैनिक रुपमा लक्षणयुक्त संक्रमितको संख्या बढ्दै छ । यस परिस्थितिलाई हेरेर राज्यले थप तयारी गर्नुपर्ने देखिन्छ ।

महामारीको रुपमा फैलिएको कोरोनाले विश्वलाई आक्रान्त पार्दैछ । यसलाई पूर्ण रुपमा न्यूनिकरण गर्नको लागी वैज्ञानिकहरू खोप तथा औषधी निर्माणको चरणमा रहेकाले यस कार्यले पूर्णता पाउन अझै कति समय प्रतिक्षामा रहनु पर्ने हो अन्यौलतामा रहेको छ । यसै वीच दक्षिण कोरिया, जापान जस्ता मुलुकहरुले कोरोना संक्रमण न्यूनिकरण गरेको प्रयास केहि हदसम्म सफल भएता पनि हाल ति देशहरुले अर्थतन्त्रलाई धेरै सतर्कताका साथ अघि बढाएको पाइन्छ । कोरोना कहरमै दक्षिण कोरियाले गतिशील राष्ट्रहरुलाई चुनौती दिदै आम निर्वाचन समेत सम्पन्न गर्‍यो, साथै केहि समय शैक्षिक संस्थाहरु पनि सञ्चालनमा ल्यायो ।

हाम्रो देशको विडम्बना धेरै समय सम्म नियन्त्रणमा रहेको हाम्रो देशमा कोरोना हाल विकराल स्थितीले उग्र रुप लिँदै छ । लामो समयसम्म सरकारले गरेको लकडाउन अवधीसम्म केहि रुपमा नियन्त्रणमा रहेता पनि पछिल्लो अवस्थामा सरकारले बन्दाबन्दीलाई खुला गरेसंगै पुनः संक्रमण फैलिएर मुलुकमा विकराल स्थिती निम्तिने अनुमान धेरैको रहेको छ ।  ट्राभल हिस्ट्री नभएका संक्रमण केशहरु देखीदै छन, स्वास्थ्य समस्या भएर अस्पताल पुगेको मान्छे कोरोना संक्रमित हुन्छ । दैनिक मृत्युदर बढ्दै छ । अहिले मृत्युदर कम छ भनेर जुन खालको मानसिकता रहेको छ, त्यो मानसिकता परिवर्तन गर्नु आवश्यक छ किनभने नेपालमा कोरोनाको संक्रमणको वृद्धी तिव्रतर भएको छ । अहिले समुदायस्तरमै  फैलिएको कोरोना नियन्त्रण बाहिर नजाला भन्न नसकिने स्थितिमा हामी पुगिसक्यौं ।

दिन प्रतिदिन कमजोर बन्दै गएको अर्थतन्त्र, धेरै मानिसले गुमाएका रोजगारी, परनिर्भरता, विश्वव्यापी आर्थिक मन्दीको अवस्था र वैदेशिक रोजगारमा समेत मानिसहरुले रोजगार गुमाउने अवस्थाले गर्दा कोरोना महामारीले  भन्दा पनि मानसिक तनाबले आत्महत्या गर्ने मानिसहरु दिनहुँ बढ्दै छन। शारिरीक रुपमा त रोगी नै हुने भए यसको अलवा मानिसहरु मानसिक रोगका पनि शिकार हुँदै गईरहेका छन्‌। यसमा राज्य संयन्त्रको ध्यान जानु अति आवश्यक छ।

स्वास्थ्य क्षेत्रमा नै राजनितिकरण हुनु, स्वास्थ्य क्षेत्र जस्तो गम्भिर क्षेत्रमा पनि राजनितिक नियुक्ति हुनु अहिलेको अवस्थामा राज्यको जनताप्रति अनुत्तरदायी भुमिका हो भन्न त्यति अप्ठ्यारो नपर्ला । यसले कहरबीच नै राज्य जनताप्रतिको दायित्त्व भन्दा पनि पद र कुर्सीको खिचतानीमा लागेको छ भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

विश्वभरी नै कोरोना संक्रमण हुँदै जाँदा सरकारले कोरोना फ्री जोन भनेर अनर्गल प्रचार गर्ने काम पनि गर्‍यो । जबकि त्यो बेला स्वास्थ्य विज्ञहरुसंगको संयन्त्र बनाई कोरोना रोकथामको लागी तयार हुनु पर्ने अवस्था थियो । लकडाउनकै समयमा वैदेशिक रोजगारमा रहने हाम्रा नेपाली दाजुभाईहरु फर्किने क्रम बढ्यो, विशेषत भारतबाट फर्किने दर धेरै रह्यो, क्वारेन्टीनको व्यवस्था गर्‍यो, परीक्षण गर्‍यो तर खासै प्रभावकारी भएको पाईएन । यसले अलिकती भएपनि महामारी नियन्त्रणमा भुमिका भने खेल्यो । हाल अवस्था परिवर्तन भयो जसले गर्दा नेपाल भारतको खुल्ला सिमाना र नेपाल कोरोना भाईरसको जोखिम कम भएको सुरक्षित ठाउँ भन्ने केहि प्रचारवाजी फैलावटले गर्दा नेपालमा व्यवसाय गर्ने र श्रम गर्ने कयौं भारतिय नागरिक समेत दैनिक रुपमा लुकिछिपी नेपाल भित्रीदैं छन । यसले गर्दा तराईका सीमाक्षेत्रका जिल्लाहरुमा बढी प्रभाव पारेको छ । भने पहाडी जिल्लाहरु साथै  काठमाण्डौ उपत्यकामा पनि संक्रमणको दर तीव्र रहेको छ। जब लकडाउन खुलेसंगै अपरिपक्व तरिकाले काम क्रियाकलापहरु बढ्दै गए त्यसको परीणाम हामी दैनिक भोगिरहेका छौं।

लकाडाउन खुल्ने अवस्था सम्म सरकारले पूर्ण रुपमा कहर नियन्त्रणबाट हात हटाएको हो? किन यतिबेला परीक्षणको दर दैनिक रुपमा घटे ? तराई लगायतका क्षेत्रहरुबाट निर्वाध रुपमा मानिसहरुलाई आवतजावत गर्ने वातावरण किन वनाईयो ? यसमा फेरी पनि जनताको मनमा डर उत्पन्न गराई स्वास्थ्य क्षेत्रमा व्यापार गर्न खोजिएको हो ? यो विषयमा जनताले समाधान खोज्दै छन ।

स्वास्थ्य क्षेत्रका समस्या चुनौतिहरु

–    देशमा दैनिक रुपमा संक्रमितहरु बढ्दै गए । छिमेकी देश भारत जहाँ जनसंख्याको हिसाबले अग्रपंक्तीमा रहेको छ, त्यहीं नै दैनिक रुपमा हजारौं संक्रमितहरु बढेको अवस्था छ । हाम्रा दाजूभाईहरु कामको सिलसिलामा भारत जानुभई घर फर्किने क्रममा क्वारेन्टिन बढाउनु पर्ने भयो । यसको लागी राज्यले प्रभावकारी व्यवस्थापन गर्न नसक्दा अधिकाशं विद्यालयहरु नै क्वारेन्टिन बनाईए । यसमा धेरै नै अव्यवस्थित भयो जुन कोरोना सर्ने माध्यमको रुपमा परिणत भयो ।

–    नमुना संकलन तथा परीक्षणका लागी आवश्यक सामग्री तथा उपकरणहरुको उचित व्यवस्थापन गर्नु पर्ने

–    अस्पतालका नियमित सेवाहरु पनि संचालन गर्नुपर्ने साथै कोभिड-१९ नियन्त्रण रोकथाम तथा उपचारका लागी पनि खटिनुपर्ने स्वास्थ्य क्षेत्रको वाध्यकारी अवस्था रहेको छ ।

–    कोभिड-१९ का सिकिस्त विरामीहरूका लागी सहज रुपमा सघन उपचार कक्षको व्यवस्था गर्नुपर्ने

–    उपचारार्थ बिरामीहरुका लागी आवश्यक औषधी/खोप लगायतका सामग्रीहरुको व्यवस्थापन गर्नुपर्ने

–    बालबालिकालाई नियमित खोप सेवा संचालनमा कठीनाई भएको

–    मृत्यू भएका संक्रमितहरुको शव दहनमा समस्या रहेको ।

–    हाल छिमेकी देशका मानिसहरु उपचार, व्यापार,  रोजगार र सुरक्षित महशुस गर्दै दैनिक रुपमा धेरै संख्यामा लुकिछिपि आईरहेका छन र त्यसरी आएर क्वारेन्टिनमा नबसी, स्वास्थ्य परीक्षण नगरी सिधै समाजमा घुलमिल भएको अवस्था देखिन्छ । यसले गर्दा संक्रमण नभएको क्षेत्रमा संक्रमण बढ्दै गएको छ, हाम्रा प्रायः सीमा  क्षेत्र,  सहरी ईलाका, राजधानी लगायतका क्षेत्रहरुमा सरकारले दैनिक निषेधाज्ञा जारी गर्दै गईरहेको छ । यसले गर्दा हाम्रो स्वास्थ्य क्षेत्रलाई ठुलो चुनौती उत्पन्न गराएको छ ।

–    स्वास्थ्य क्षेत्रमा सिमित मानव संसाधन र भईरहेका संसाधन पनि यस महामारीसंग भिड्न पूर्ण रुपमा दक्ष नहुनु हाम्रो स्वास्थ्य क्षेत्रको समस्या हो । साथै तत्कालिन अवस्थामा गुणस्तरहीन स्वास्थ्य सामग्री हुनुले गुणस्तरीय सेवा प्रवाहमा अझ धेरै चुनौतिहरु सिर्जना गरेको छ ।

–    श्रोत साधनको कमी, असावधानी लगायतका कारणले स्वास्थ्य क्षेत्रमा रहेर अग्रपंक्तीमा खटिने कयौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु नै संक्रमणको सिकार हुन पुगेका छन । यसरी दिन प्रतिदिन स्वास्थ्य क्षेत्र नै संक्रमण हुँदै जाने हो भने सर्वसाधरण जनताको सुरक्षाकवच नै खोसिने डर हुन्छ । तसर्थ जसरी हुन्छ स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउनु पर्ने हुन्छ ।

–    महामारीको अवस्थामा देशभित्रका सम्पूर्ण साधनहरु प्रयोग गर्नुपर्ने अवस्था छ । सरकार, निजी क्षेत्र र जनता सबै पक्षको सत्प्रयासले महामारीसंग जुध्ने वातावरण/शक्तीको सिर्जना हुन्छ । यसमा सरकारले निजी क्षेत्रका संसाधनलाई प्रयोगमा ल्याउन, तादम्यता मिलाउन र प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

–    सरकारले यस भन्दा अघि महामारीसंग जुध्न स्वास्थ्य क्षेत्रका सामग्री खरिद प्रक्रियामा विभिन्न कम्पनी हरु संग सम्झौता गर्‍यो र विवादित पश्चात, विवादित हुँदा हुँदै नेपाली सेना मार्फत खरिद प्रक्रिया अगाडी बढायो । यसरी सामग्री खरिद पश्चात पनि जनमानसमा यसको तिव्र असन्तुष्टी कायम नै छ ।  यसबाट सरकारी संयन्त्र नै स्वास्थ्य क्षेत्रको गाम्भिर्यतालाई वेवास्ता गर्दै व्यापारीकरणमा लागेको प्रष्ट हुन्छ । यसरी कठीन समयमा संस्थागत भ्रष्टाचार मौलाउनु दुर्भाग्य सावित भएको छ ।

–    हाल पछिल्लो अवस्थामा जनमानसमा सतर्कताको कमी भईरहेको महशुस भएको छ । सरकारले जे जसरी सामुहिक रुपमा नजाने, मास्कको सहि प्रयोग, सेनिटाईजरको प्रयोग आदी ईत्यादीमा सार्वजनिक अपिल गरीरहेको छ तर केहि समय यता सरकारले लकडाउन केहि खुल्ला गरेसंगै सर्वसाधरणमा भने कहर नै अन्त्य भएजस्तो मानसिकता देखिएको छ । व्यापक रुपमा घुलमिल, भेटघाट, मास्क कै सहि तरीकाले प्रयोग नगरिदिँदा संक्रमण तीव्रदरमा बढ्ने देखिन्छ । यसले स्वास्थ्य क्षेत्रलाई थप समस्या उत्पन्न गराउने डर छ ।

हाल देशमा कोरोनाले विस्तारै महामारीको रुप लिंदै छ । यस्तो अवस्थामा सरकारले सम्पूर्ण श्रोत साधनलाई प्रभावकारी तरीकाले परीचालन गर्दै संकटसंग जुध्दै जानु पर्ने अवस्था छ । कोरोनाका हटस्पटहरुमा संक्रमणलाई अझ फैलिन नदिन सुरक्षात्मक रणनितीहरु पनि सरकारले जारी गरको छ । यस अवस्थामा देशभरीका अस्पतालहरुमा सघन उपचारकक्ष सहितका आईसोलेसन वार्डहरु थप्दै जानुपर्ने देखिन्छ । विशेषत संक्रमित विरामीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई थप प्रोत्साहन गर्दै महामारी संग जुध्नु अहिलेको आवश्यकता पनि हो । हालमात्र रसीयाले कोरोना विरुद्धको खोपलाई प्रमाणीकरण गरेको छ, तेश्रो चरणको प्रयोग अझै बांकी रहेपनि यसले कोरोनासंग लड्न केही आशाको किरण दिएको छ । यस्तै बेलायत, अमेरीका, चिन लगायत देशहरुका १५० भन्दा बढी संघ संस्थाहरु खोप तथा औषधी निर्माणमा प्रयत्नशील रहेका छन्‌ । धेरै प्रयासहरु दोश्रो चरणको परीक्षण पार गरेको अवस्था रहेको छ । तसर्थ आशा गरौं हाम्रो देश खोज अनुसन्धान तर्फ त्यती सबल सक्षम नभए पनि विश्व प्रविधीहरुलाई आत्मसाथ गर्दै महामारीलाई  जित्ने छ ।