जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुश्माको बन्जी प्रदेशकै गहना हो: मुख्यमन्त्री गुरूङ

जन्मभुमि खबर , पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कुश्मामा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी सुरू हुनु प्रदेशकै गर्वको कुरा रहेको बताएका छन् ।कालीगण्डकी खोंचमा पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरी बन्जीका लागि बनाइएको पुलको अवलोकन गर्दै यस्ता एड्भेन्चर गतिविधिले कुश्मा /बाग्लुङको मात्र नभै गण्डकी प्रदेशकै पर्यटकीय माहोल बढाएको  मुख्यमन्त्री गुरूङले बताए।

‘नेपाली लगानीकर्ता र नेपाली जनशक्तिले अन्तर्राष्ट्रिय स्तरको एड्भेन्चर सञ्चालन भएको सुन्दा निकै खुसी लाग्यो,’ उनले भने, ‘प्रदेश सरकार पनि पर्यटन प्रवर्द्धनमा लागिपरेको छ। कुश्माको बन्जी प्रदेशकै गहना हो। यहाँहरूको प्रयासमा होस्टेमा हैंसे गर्न हामी तयार छौं।’ राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्न कुश्मा पुगेका गुरूङले अर्कोपटक अझै धेरै समय बिताउन आउने योजना बनाएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले बताए।