जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कविता , तिमी नारी होइनौ झैँ लाग्छ

तिमी नारी होइनौ झैँ लाग्छ

अझै छाउगोठमा बस्न विवश छन् नारी
दिनकै हत्या हुन्छन् बलात्कृतमा पारी
उसलाई लाज ढाक्न थोत्रो टालो छैन
तिमीलाई हरेक दिन फेरि फेरि सारी ।

तिमी आज जुन ठाउँमा पुगेकी छौ
राष्ट्रपतिको नाम पाएर फुकेकी छौ
त्यसमा तिनै नारीको हात छ, साथ छ
तिमीलाई सुनाउनैपर्ने एउटा बात छ
आज ति नारीसँग पीडाको खात छ

तिमीले त्यहाँ पुग्नु अघि वचन दिएकी थियौ
नेपालीको हितमा काम गर्ने कसम लिएकी थियौ
के त्यो सबै झुटो थियो ?
कि नशा पिएकी थियौ ?
आज तिमीले निर्णय सबै आफ्नै बारेमा मात्रै लियौ ।

चुनाव फेरि पनि हुन्छ ~~
जित्नु फेरि पनि पर्छ ~~
अब फेरि भोट माग्नको लागि
तिमी खै कुन एजेन्डा लिन्छौ ?
कुन मुख लिएर गाउँमा हिन्छौ ?
आज महँगो कार र गलैँचा खोज्नेले
जनतालाई कस्तो आश्वासन दिन्छौ ?

देशका भोलिका कर्णधारहरू आज …
नदी किनारमा गिट्टी कुटिरहेका छन्
भोलिका शिक्षित आमा बन्ने छोरीहरू
विद्यालयबाट वञ्चित हुँदै छुटि रहेछन् ।

तिमी पनि नारी ऊ पनि नारी
बाँचेका छन् इच्छा र रहरहरू मारी
कसले बुझ्छ उसको मनको भारी
तिमी आफ्नै बारे सोच्छौ वारिपारि ।

तिमी भित्र मानवता त रैनछ नै
अनि अलिकति लाज पनि छैन झैँ लाग्छ
तिमी जनताको दुःख पीडा बुझ्ने हैन झैँ लाग्छ
देश रोगमा गढेको छ जनता भोकमा मरेका छन्
तिम्रो व्यावहार देख्दा नारी पनि हैन झैँ लाग्छ ।

किन ? थाहा छ तिमीलाई ?

नारी सफा मन र कोमल हृदयकी हुन्छिन्
जिम्मेवारी कर्तव्यपूर्ण निर्वाह गरेकी हुन्छिन्
सन्तानका दु:खमा सँगै दुःखी भएकी हुन्छिन्
सबैमा सधैँ हिम्मत र हौसला भरेकी हुन्छिन् ।

तिमी नारी बनेर पनि किन यति कठोर बन्यौ ?
जनतालाई बिर्सिएर आफ्नो मात्र खुसी भन्यौ ?
जनताको रगत, पसिनाले जोडीएको धन हो त्यो
जता मन लाग्यो त्यतै पोख्ने तिमीले के ठान्यौ ?

जनता महिनौदेखि घरभित्र थुनिएका छन्
अभावमा भोक ,रोग र शोकले सुनिएका छन्
तत्काल कर उठाउने,किस्ता जुटाउने सुनेपछि
न काम न कमाइ तिर्ने केही उपाय नभए पछि
लाचार बनि आत्महत्याका योजना बुनिएका छन् ।

तिमीलाई जनता र देशको पिर छैन
पदको घमन्डले चङ्गा बनेको मन थिर छैन
तिमीले राम्रोसँग नियाल्नुपर्छ आफुलाई
जनताका सामु जाँदा उठाउने उच्च शीर छैन ।

त्यसैले तिमी नारी होइन झैँ लाग्छ ।