जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आरू सुवेदीको कविता” बोल्दैन त्यो तस्वीर”

पोखरा ।

मेरा बाले कहिल्यै पनि देखाएनन् रे, मनको पीर
आज पनि मुस्कुराउँदै छ , भित्ताको त्यो तस्विर
पूरा गर्न बाँकी धेरै थिए बाका र मेरा मनका रहर
निष्ठुरी बन्यो पापी दैव कोपिलामै घोलिदियो जहर ।

बोली नफुट्दै काखमा राखी बा – बा भन्न सिकाउँथे
आज भन्न पाए म `बा´ भनेरै साँच्चै कति बोलाउँथे
बाले धरती छोडेपछि आमाको जिन्दगी बेरङ्ग बन्यो
समाजले पनि विधुवा र टुहुरो कठ्ठै बिचरा भन्यो ।।

बाको रहर थियो रे, मलाई धेरै लेखाउने पढाउने
आफूले रहरले चढ्न नसकेका ती सिँढी चढाउने
छानो उडाएको घरको हाल जस्तै भो जिन्दगी यो
जति बोलाए नि कसैगरी बोल्दैन ,बाको तस्वीर त्यो ।।

आखिर के नै अर्थ हुन्थ्यो र, धागो बिनाको सियो
दैवले नि गरिवीको साहारा, जुन थियो त्यही लियो
सबैले बा भन्दै खुसीले हात समाएर हिँडेको देख्छु
बोल्दैन सधैँ मुस्कुराइरहने तस्विरमा बा भनेर लेख्छु
बिन्ती बा आज तिमी फर्केर हामीसँगै आई देऊन
मायाले एकचोटि मलाई, छोरा भनेर काखमा लिऊन
तिमी आकाश पुगेर तारा बनेपछि यो धर्ती रोएको छ
हरेक औंशीमा यो छोराले , आँसुले मुहार धोएको छ ।।

आफ्ना रहर बेचेर नि आमाको खुसी किन्नु छ मलाई
सधैँभरि आमाले देखाउने त्यही बाटो हिन्नु छ मलाई
म छु आमा नदु:खाउनु मन, साहारा कोही छैन भनेर
समाजमा राम्रो काम गरेर देखाउँछु, असल छोरो बनेर ।।