जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजबाट तिहार सुरू, तिथिको घटबढले काग तिहार भोलि

जन्मभुमि खबर पोखरा । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।

आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।

सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको उनले बताए । उनका अनुसार तिथिको घटबढका कारण यस्तो भएको हो ।

यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए ।

यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसैदिन परेको छ ।कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत रहेको जनाएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए ।

यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ ।